नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशन आज, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
बाँके। नेकपा (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ केन्द्रीय महाधिवेशन आज नेपालगन्जमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
एमाले केन्द्रीय सदस्य तथा मुस्लिम विभाग इन्चार्ज मोहम्मद हारुन हलवाईले महाधिवेशनलाई ऐतिहासिक रूपमा सम्पन्न गर्न सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार देशभरबाट ६ सयभन्दा बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहनेछ।
महाधिवेशनबाट मुस्लिम समुदायसहित मधेशी, थारू, दलित, अल्पसंख्यक र सिमान्तकृत समुदायको उत्थानका लागि ‘नेपालगन्ज घोषणा पत्र’ जारी गरिनेछ।
एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले गणतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेको बेला महाधिवेशनले गणतन्त्र सुदृढ बनाउन भूमिका खेल्ने बताउनुभयो।
महाधिवेशन सफल बनाउन एमाले नेतृ दीपा शर्मा, सांसद सूर्य ढकाल, लेखा समिति सदस्य विजया धिताल, एमाले बाँके अध्यक्ष निरक गुरुङ, महाधिवेशन मूल समारोह संयोजक हलिम शाहलगायतका नेताहरु सक्रिय रहेका आयोजक समितिले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्