श्रम कार्यालय नेपालगन्जमा चालु वर्ष ४६ श्रमिकका उजुरी, २१ फर्स्यौट
बाँके। श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्ष २०८१/०८२ मा ४६ जना श्रमिकका उजुरी दर्ता भएका छन्। तीमध्ये २१ वटा उजुरी फर्स्यौट भएका छन्।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा श्रम कार्यालय नेपालगन्जमा ५० वटा उजुरी परेका थिए। सो आर्थिक वर्षमा परेका उजुरीमध्ये ४० वटा फर्स्यौट भएका थिए भने १० वटा उजुरी चालु आर्थिक वर्षमा सरेर आएको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख पिन्टु कुमार रजकले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षमा श्रम तथा रोजगार कार्यालय नेपालगन्जले १९६ वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेको छ। त्यस क्रममा ती सबै प्रतिष्ठानमा बालश्रम सम्बन्धी अनुगमन पनि गरिएको थियो।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा श्रम कार्यालय नेपालगन्जले ३७९ वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेको थियो र सोही संख्यामा बालश्रम सम्बन्धी अनुगमन गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्