भोजपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
भोजपुर । भोजपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
नगरपालिका भित्रका १२ वटै वडाहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै शुक्रवार औपचारिक रूपमा नगरपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

नगर खोप समन्वय समितिका संयोजक एवं भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सरकारले उपलब्ध गराउने सबै किसिमका खोप लगाएको सुनिश्चित गरिएपछि यस्तो घोषणा गरिएको भोजपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक मोहमद सफी रहमानले जानकारी दिनुभयो । ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई खोपमा पहुँच पुर्याउने लक्ष राखिएको छ ।
कार्यक्रममा सेवा निवृत्त महिला स्वयम् सेविकालाई दोसल्लासहित सम्मान गरिएको थियो भने पालिका भित्रका स्वास्थ्य संस्था तथा महिला स्वयम् सेविकाहरूलाई कदर पत्रबाट सम्मान गरिएको थियो ।
भोजपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने जिल्लाको दोस्रो पालिका हो । यसअघि जिल्लाको दक्षिणमा रहेको हतुवागढी गाउँपालिका पहिलो पालिका घोषणा भई सकेको छ ।
प्रतिक्रिया राख्नुहोस्