तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा दर्ता नगरी सञ्चालन गरेको फार्मेसी सिल

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–४ प्रशासन रोडमा रहेको आयुषा फार्मेसी एण्ड बैजनाथ क्लिनिकलाई सिल गरिएको छ । औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्ज, बाँकेसहितको संयुक्त अनुगमन टोलीले सो फार्मेसीलाई सिल गरेको हो । 

 अनुगमनका क्रममा दर्ता नै नगरी सञ्चालन गरेको पाइएपछि आयुषा फार्मेसीलाई सिल गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिनुभयो । 

‘हामीले अनुगमन गर्दा दर्ता नगरेरै फार्मेसी सञ्चालन गरिएको पाइयो । पहिले दर्ता गर्नुभएको रहेछ । दर्ता रद्द भइसकेपछि पनि सञ्चालन गरेको भेटिएपछि सिलबन्दी गरिएको हो उनले भने, ‘फार्मेसीमा म्याद नाघेको औषधिहरू पनि सञ्चय गरेको भेट्यौँ । संयुक्त अनुगमन टोलीले एक साताभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ । उक्त टोलीले जिल्ला सदरमुकाम क्षेत्रका ११ वटा फार्मेसी तथा औषधि पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, सरसफाइमा ध्यान नदिएको, बिल नदिने गरेकोजस्ता समस्या देखिएको छ । बिल काट्दा सबै विवरण भर्न तथा सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको छ । अनुगमनमा जिल्लाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत द्वारिका ओझा, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक अशोककुमार गुप्ता, पत्रकार र सुरक्षाकर्मीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button