तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास र स्थिरताको लागि वर्तमान सरकार’ — मन्त्री दाहाल

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुलुकमा विकास र स्थिरताका लागि वर्तमान सरकारको विकल्प नरहेको बताउनु भएको छ ।

झापाको भद्रपुरमा आज एक समारोहका बीच नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ५१ औँ वार्षिक साधारणसभा तथा रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवाको अत्याधुनिक प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री दाहालले सो कुरा बताउनु भएको हो ।

मन्त्री दाहालले विकास, समृद्धि, सुशासन र स्वतन्त्रताका लागि वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पनि विकल्प नरहेको भन्दै केही कमी–कमजोरी भए यही व्यवस्थाभित्र रहेर ती कमी–कमजोरी सुधार गर्नुपर्ने औँल्याउनु भयो । ‘अहिलेको व्यवस्थाबाट पछि फर्किने कुरा हुँदैन’, उहाँले भन्नुभयो ‘कमी–कमजोरीहरू यही व्यवस्थाभित्र रहेर सच्याइनुपर्छ ।’

मन्त्री दाहालले मुलुकको आवश्यकता अनुसार नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा वर्तमान सरकार गठन भएको उल्लेख गर्दै यो सरकारलाई असफल हुने छुट पनि नरहेको बताउनु भयो । उहाँले अहिले नेपालमा केही पनि भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताउँदै त्यो जनतामा भ्रम फैलाउने कुरा मात्र भएको बताउनु भयो । उहाँले ०४६ अघि २००० किमी सडक कालोपत्रे रहेकोमा त्यसपछि १५ हजार किलोमिटर सडक कालोपत्रे भइसकेको उल्लेख गर्नुभयो । ‘पूर्वाधार विकासमा सरकारले धेरै प्रगति गरिसकेको छ’, उहाँले भन्नु भयो– ‘बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको एसियन राजमार्गले सडक सञ्जाललाई थप मजबुत र सुरक्षित बनाउनेछ ।’ 

मन्त्री दाहालले वर्तमान सरकारको लक्ष्य ‘सुखी नेपाली, समृद्ध’ नेपाल भन्ने रहेकोले सोही लक्ष्यअनुसार सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको अध्यक्षतामा आयोजित समारोहमा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता सुधीरकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायतले बोल्नु भएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button