ताप्लेजुङ गाडी दुर्घटना अपडेट: मृतक चारै जनाको पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइयो

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा दर्शनका गएको गाडीमा करेन्ट लागेर आइतबार मुत्यु भएका चार जनाको शव पोस्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रवि रावलका अनुसार सोमबार र मङ्गलवार गरी चारै जनाको पोस्टमार्टम सम्पन्न भएसँगै शव आफन्तलाई जिम्मा लगाइएको हो । ताप्लेजुङ फुङलिङ नगरपालिका वडा न-१० फुरुम्बुका ४२ वर्षीय दुर्गा भट्टराई र ललितपुर महानगरपालिका १० बस्ने १६ वर्षीया आध्या आचार्य ,झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल र ६९ वर्षीया सरिता पौडेलको पोस्टमार्टम सम्पन्न गरेसँगै आफन्तलाई जिम्मा लगाएको प्रहरीको भनाई छ ।
ताप्लेजुङ निवासी मृतक भट्टराईको आज दिउँसो फुरुम्बुको सिक्ने दोभान घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् । भट्टराईको आज बिहान पोस्टमार्टम गरेको थियो । यता ललितपुरका आचार्यको शवलाई पनि आज झापामा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शव केही समय अघि मात्र झापा लगिएको प्रहरीको भनाई छ । तिन जनाको पोस्टमार्टम सोमबार राति नै गरिएको थियो ।
सोमबार पाथीभरा (मुक्कुम्लुङ) दर्शनका लागि पाँच जान यात्रु लिएर गएको मे १ च ३०११ नम्बरको गाडी मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । गाडीमा आगलागी हुँदा चार जनाको घटना स्थलमा मृत्यु भएको थियो । भने दुई जना आमाछोरा घाइते भएका थिए । हेम्र्स अस्पतालको हेलिकोप्टर मार्फत थप उपचारका लागि सोमबार घाइते आमा ललितपुर महानगरपालिका १० बस्ने वर्ष ४५ की सबिना आचार्य र उहाँका १० वर्षीय छोरा भबिमय आचार्यलाई काठमाडौँ पठाइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्