घाइतेको नारायणी अस्पतालमा उपचार हुँदै
वीरगन्ज (पर्सा)। हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् ।दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिनुभयो । “मेरो त दाहिने हातमा चोट लागेको छ”, उहाँले भन्नुभयो, “मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन । अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ ।” वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ समेत घाइते हुनुभएको छ ।
पर्सा प्रहरी प्रमुख मिश्रले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिनुभयो । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिनुभयो । “शनिबारको तनावपछि यहाँ ४३ भन्दा धेरैको उपचार भइरहेको छ”, उहाँले भन्नुभयो, “कतिपय सामान्य उपचारपछि घर पनि फर्किसक्नुभएको छ । केही घाइतेको भने यहाँ उपचार भइरहेको छ ।”
प्रवक्ता सिंहले घाइते भएकाहरूको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिनुभयो । “अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ”, उहाँले भन्नुभयो । सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिनुभयो । “एक जना घाइतेको खुट्टा भाचिँएको छ । उहाँको उपचार जारी छ”, उहाँले भन्नुभयो, “अन्य घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।”
जिल्ला प्रशासन कार्यालय पर्साले तनावको अवस्थालाई मध्यनजर गर्दै शनिबार बेलुकादेखि आइतबार बिहान १२ः०० बजेसम्मको अवधिमा कफ्र्यु आदेश जारी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्