तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै

घोराही । प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा दाङको घोराहीमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।

यही चैत २० गतेदेखि २३ गतेसम्म प्रदेशभरका १२ जिल्लाका खेलाडीको सहभागितामा प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति मातहत सम्बन्धित जिल्लाबाट खेलाडी सहभागी हुने गरी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा हुने भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुभयो ।

लिगकम नकआउटको आधारमा खेलाइने मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासङ्घको नियमानुसार खेलाइने उहाँले बताउनुभयो । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

आयोजकले खेल सञ्चालन हुने जिल्लाबाहेक अन्य जिल्लाका खेलाडी, टिम प्रशिक्षक र टिम व्यवस्थापकलाई यातायात बापत रकम उपलब्ध गराउने तथा सहभागी टिमहरूलाई खाना तथा आवासको पनि रकम उपलब्ध गराउने जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेताले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले बताउनुभयो । यसैगरी, तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टिमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने भएको उहाँले बताउनुभयो ।

यसअघि, हालै अर्घाखाँचीको सन्धिखर्कमा मुख्यमन्त्री कप प्रदेश स्तरीय  पुरुष भलिबल प्रतियोगिता गरिएको थियो ।

आयोजक प्रदेश खेलकुद परिषद्, लुम्बिनीले यसपछि प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता चैत २५ बाट तथा फुटबल प्रतियोगिता चैत २७ गतेबाट गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button