तपाईँ सुन्दै हुनुहुन्छः

अराजक समूहको गतिविधिविरुद्ध पत्रकार महासङ्घ उदयपुर आन्दोलित

उदयपुर ।  गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएर आक्रमण गर्दा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको विषयलाई लिएर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा उदयपुरले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भक्तिबिलास पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय उदयपुर पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलको अनुपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै अध्यक्ष पोखरेलले नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा मृतक पत्रकारको  परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन जोडदार माग गर्नु भएको छ ।

अध्यक्ष पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन समेत माग माग गर्नु भएको छ ।

नेपाल पत्रकार महासङ्घ उदयपुरले आफूहरूको  माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । महासङ्घले आफूहरूको माग पुरा नभए सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ समेत ध्यानाकर्षण गरेको छ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले सञ्चारकर्मीहरूको मागलाई तत्काल आफूहरूले नेपाल सरकार समक्ष पुर्‍याउने बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय कमिटीको निर्णय अनुसार आज देशभरका जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button