ईद उल फित्रको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा शुभकामना व्यक्त
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्रको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले देश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधता भएको देश भएकाले यहाँको धार्मिक सहिष्णुता अनुकरणीय रहेको उल्लेख गर्नुभयो । धार्मिक तथा सांस्कृतिक चाडपर्वहरूले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्न तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको धारणा छ ।
ईद उल फित्र मुस्लिम समुदायका लागि महत्वपूर्ण चाड रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले विविध धर्म तथा संस्कृति मान्ने सबै नेपालीबीच भाइचारा, प्रेम र एकताको भावना प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले सबै धर्म, संस्कृति तथा पर्वलाई समान रूपमा महत्व र सम्मान दिँदै आएको उल्लेख गर्दै उहाँले हाम्रा मौलिक संस्कार, संस्कृति संरक्षण, प्रवद्र्धन तथा विकासबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयो । प्रदेश सरकार यही दिशामा अघि बढिरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्