राप्तीसोनारीमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीव्रता दिएको छ ।

जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताउनुभयो ।
वडा नम्बर २ टिकुलीपुरमा निस्सा वितरण तथा जग्गा नापजाँच कार्यको शुभारम्भ गर्दै उहाँले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो ।
पालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले वर्षौंदेखि जोतभोग गर्दै आए पनि जग्गाधनी पुर्जा नपाउँदाको पीडा अब हल हुने बताउनुभयो । ‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ,’ उहाँले भन्नुभयो–‘अब ढुक्क हुनुहोस् तपाईँले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाईँ नै भएको पुर्जा प्राप्त गर्नुहुनेछ । निस्सा वितरण र जग्गा नापजाँचको काममा पालिकाबाट खटिएका प्राविधिकहरूलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’
राप्तीसोनारी गाउँपालिका वडा न-२ का कार्यबहाक वडा अध्यक्ष दिर्घबहादुर बुढाथोकीले भूमिहीन समस्यालाई अब दीर्घकालिनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडावासीले सहयोग गर्नुपर्ने बताउनुभयो । वडा नम्बर २ मा करिब २ हजार २०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् । गाउँपालिकाले ४४ जनालाई निस्सा वितरण गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्