तपाईँ सुन्दै हुनुहुन्छः

‘लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत रूप लोकतन्त्र’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत रूप लोकतन्त्र नै भएको बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विद्यमान शासन व्यवस्थामाथि किन प्रश्न उठिरहेका छन् भनेर समीक्षा भने आवश्यक रहेको बताउनुभयो । 

अध्यक्ष यादवले शुक्रबार भएको तीनकुने घटनालाई बहुदलीय व्यवस्था आएको लामो समयसम्म पनि स्थिर सरकार बन्न नसकेको र नागरिकका आकाङ्क्षा पूर्ति हुन नसकेको आक्रोशका रूपमा चित्रण गर्नुभयो । 

अध्यक्ष यादवले यसबेला राजतन्त्रको पक्षमा मानिस किन प्रदर्शन गरिरहेका छन् भनेर गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पूर्व राजाका नामबाट तीनकुनेमा भएको घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्नुभयो । उहाँले हिंसात्मक, दुःखदायी र निन्दनीय घटनाका रूपमा त्यसलाई लिइनुपर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष ऋषि धमलाले विद्यमान शासन व्यवस्थाका पक्षमा आफू र आफ्नो संस्था दृढ रहेको बताउनुभयो । उहाँले पूर्व राजा पक्षधरहरूको आन्दोलनको निसानामा सञ्चार क्षेत्र परेकामा निन्दा गर्दै आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकलाई राज्यले सहिद घोषणा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्लबका तर्फबाट पत्रकार रजकका परिवारलाई रु २५ हजार सहयोग उपलब्ध गराउने घोषणा समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button