एमाले सचिवालय बैठक : कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन आग्रह
काठमाडौँ । नेकपा (एमाले)ले संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई आग्रह गरेको छ ।
यहाँ आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको व्यवस्था अनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरूलाई अनुरोध गरेको एमाले महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको समेत ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।
एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज तथा आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसलाई ‘युथ समिट’का रूपमा मनाउने निर्णय गरेको र उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाको सहभागिता रहने महासचिव पोखरेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले राजावादीका नाममा काठमाडौँको तीनकुने, कोटेश्वर, जडीबुटी लगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भर्त्सना गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनका नाममा सवारीसाधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्नेजस्ता अराजक र आपराधिक क्रियाकलापको छानविन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूका परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्