८९ वर्षको उमेरमा नागरिकता प्राप्त
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-८ की रंगी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता पाउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले वृद्ध महिला नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिनुभएको हो।
नेपालीलाई विगत लामो समय देखि पहिलेनै नेपाली नागरिकता दिलाउन प्रयास भएको भएपनि कानुनी व्यवधानका कारण नसकिएको बुढिगंगा नगरपालिका(८ का वडा अध्यक्ष रमेश रावलले बताउनुभयो।
वडा अध्यक्ष रावलका अनुसार वृद्ध महिलाको आफन्त एक छोरी भएपनि छोरीले विवाह गरेर गएपछि साहारा विहीन बनेकी नेपालीले नागरिकता नहुँदा नगरपालिकाबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु परेको थियो ।
वृद्ध महिलाको नागरिकता बनाउनका लागि कानुनी प्रक्रियामा सहयोग गर्ने आफन्त कोही नभएकाले आफैले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको वडा अध्यक्ष रावलले बताउनुभयो । ८९ वर्षको उमेरमा नागरिकता पाएपछि रंगी नेपाली खुसीले दङ्ग हुनुभएको छ।
नेपालीका श्रीमान् बितेको करिब २२ वर्ष पुगिसकेकाले हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट बञ्चित भएकी नेपालीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले वडा अध्यक्ष रावलको सिफारिसमा नागरिकता प्रदान गर्नुभयो ।
नेपालकै नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्ध महिलालाई कानुनी प्रावधान पुरा गरी नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी पाध्यायले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्