तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा भोलिदेखि ‘रोजगार मेला’ आयोजना हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा भोलिदेखि दुई दिने रोजगार मेला आयोजना हुँदैछ । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजना तथा बाँकेका स्थानीय पालिकाहरूसँगको सहकार्य र साझेदारीमा चैत १५ र १६ गते दुई दिने रोजगार मेला गर्न लागिएको हो । 

नेपालगञ्जमा आज पत्रकार सम्मेलनको आयोजना गरेर रोजगार मेलाको तयारी पूरा भएको जानकारी दिइएको छ । 

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले रोजगार मेलामा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकासँग सहकार्य र साझेदारी रहेको बताउनुभयो । 

रोजगारदाता र बेरोजगार व्यक्तिहरूलाई एकै थलोमा राखेर रोजगारी सिर्जना गर्ने, विद्यमान बेरोजगारी समस्या समस्या कम गर्ने, विदेश पलायन न्यूनीकरण गर्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको धामीको भनाई छ । 

मेलामा रोजगारदाताका ३५ वटा स्टल रहनेछन् । सङ्घले सबै स्टल निःशुल्क उपलब्ध गराएको बताएको छ । मेलाबाट कम्तीमा १०० जनाले प्रत्यक्ष रोजगार पाउने अनुमान गरिएको छ । “रोजगारदाता र रोजगारको खोजीमा रहेका व्यक्ति बीच सिधा सम्पर्क हुने भएकोले पनि मेला लगत्तै धेरै रोजगारीका अवसर सिर्जना हुने हामीले आशा गरेका छौँ”, अध्यक्ष धामीले भन्नुभयो, “रोजगार मेलाले रोजगारदातालाई आवश्यक पर्ने श्रम शक्तिको पहिचान गरेपछि सोही अनुसारको सीपयुक्त जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेर रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि जनाउँदछौँ ।”

त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारका साथै रोजगारदातासँग सहकार्य गरिने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

पत्रकार सम्मेलनमा नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, महासचिव भिम बहादुर रानाभाट लगायत पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button