वीरगंजको मेनरोड विस्तार गर्ने कार्यको विरोधमा बजार बन्द

वीरगंज । सर्वोच्च अदालतको फैसलापछि वीरगंजको मुख्य सडक २५–२५ मिटर विस्तार गर्ने कार्य वीरगंज महानगरपालिकाले शुरु गरेसँगै त्यसको विरोधमा व्यापारीहरूले आज बजार बन्द गरेका छन् ।
बिहान १० बजेदेखि १२ बजे सम्मको लागी वीरगंजका व्यापारीहरूले विरोधस्वरुप आज पहिलो दिन २ घण्टाको लागी बजार बन्द गरेका हुन् ।
देशकै प्रमुख व्यापारिक शहर वीरगंजको सडक विस्तार विरुद्ध दर्ता भएको रिट निवेदन सर्वोच्चमा १२ वर्षदेखि विचाराधीन रहेकोमा गत फागुन २८ गते सर्वोच्च अदालतका न्यायधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको थियो ।
सर्वोच्च अदालतले वीरगञ्जको मुख्य सडक २५– २५ मिटर फराकिलो बनाउने फैसला गरेपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्ज नापी कार्यालयलाई सडक सिमाङ्कन गर्न पत्राचार गरेसँगै कार्यान्वयन सुरु भएको हो ।
यसैबीच, वीरगञ्ज महानगरपालिकाको पहलमा चैत ५ गते बसेको बैठकमा सरकारी कार्यालयहरूले आफ्ना संरचना हटाउने प्रतिबद्धता जनाएका थिए । यद्यपि, सडक विस्तारको आवश्यकता नभएको दाबी गर्दै घरधनी र व्यवसायीहरूले सरकारले उचित मुआब्जा नदिएसम्म यो प्रक्रिया मान्य नहुने बताएका छन् ।
वीरगन्ज बचाउ सङ्घर्ष समितिका संयोजक जवाहर प्रसाद गुप्ताले वीरगन्जवासी लाई घरबारविहीन बनाएर विकास गर्न खोज्नु सह्य नभएको र आफूहरूले उठाएको माग सुनुवाइ नभएको भन्दै सङ्घर्ष समितिले बिहीबार वीरगञ्ज बजार बन्द गरेको बताउनुभयो ।
यता बिहान १० बजे आदर्शनगर चोकबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी घण्टाघर मा पुगी बिरोध सभा गरेको थियो । सडक डिभिजन कार्यालय मुर्दावाद, सुकुम्बासी बनाउन पाइँदैन, २०७२ को निर्णय लागू गर, दादागिरी चल्दैन, मनोमानी गर्न पाइँदैन’ भनेर नारा समेत लगाएका थिए ।
सडक विस्तार रोक्न आजै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको संयोजक गुप्ताले जानकारी दिनुभयो । घरधनीहरूको विरोधसँगै वीरगंजमा सडक विस्तारको विषय थप पेचिलो बन्ने देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्