भरतपुर कारागारका कैदीबन्दीहरुको निःशुल्क आँखा परिक्षण

चितवन । भरतपुर कारागारका कैदी तथा बन्दीहरूको निःशुल्क आँखा परिक्षण गरिएको छ । उनीहरूको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै आँखा परिक्षण गरिएको हो ।
नेत्रज्योति संघ चितवनको ४७ औँ स्थापना दिवसको अवसरमा बुधबार भरतपुर आँखा अस्पतालले २ सय ८९ जना बन्दीको निःशुल्क आँखा परिक्षण गरेको जनाएको छ । आँखा परीक्षणपछि आवश्यक पर्नेहरूलाई औषधि र चस्मा समेत निःशुल्क वितरण गरिएको छ ।
नेत्रज्योति संघ चितवनको सभापति तथा भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले संस्थाको स्थापना दिवस पारेर प्रत्येक वर्ष आँखा शिविर गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विगत २२ वर्षदेखि कारागारमा आँखा शिविर गर्दै आएका छौँ । कारागारमा रहेका बन्दीले समयमै उपचार नपाउने हुँदा हामीले विशेष दिवसको अवसर पारेर कार्यक्रम गरेका हौँ ।”
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले बन्दीलाई लक्षित गरेर हरेक वर्ष आँखा अस्पतालले शिविर गर्दै आएको बताउनुभयो । उहाँले उपचारको लागि आर्थिक अभाव खेपिरहेका बन्दीले यस शिविरबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “मोतीया बिन्दु भएका बन्दीलाई निःशुल्क शल्यक्रिया गर्ने भरतपुर आँखा अस्पतालले प्रतिबद्धता जनाएको छ । यसले हामीलाई धेरै सहज पुग्ने छ ।” आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदैं जाने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्