तपाईँ सुन्दै हुनुहुन्छः

कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षीद्वारा संसद् बैठक अवरोध

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । प्रतिनिधि सभाको आजको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध शुरु गर्नुभयो ।

प्रतिपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिनुभयो । सांसद बस्नेतले स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको आरोप लगाउनुभयो । विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले बताउनुभयो ।

उहाँले एउटा कुशल व्यवस्थापकलाई राम्रो हुन्छ भनेर सन्देश दिनुपर्नेमा सरकारले गलत सन्देश जाने गरी काम गरिरहेको समेत आरोप लगाउनुभयो । बस्नेतले सङ्ख्याको बलमा जनताका आशा गुमाउने गरी सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएको र दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको समेत आरोप लगाउनुभयो । 

४ महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएर सरकारले आफ्नो औचित्य गुमाइरहेको भन्दै सरकारको निर्णय जनसरोकारको विषय बनिसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई हटाएको कारण संसदमा जानकारी नदिएसम्म संसद् चल्न नसक्ने बताउनुभयो । 

ऊर्जामन्त्री दिपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुको जस भारत सरकारलाई दिनुपर्ने लगायतका अभिव्यक्ति दिएको विषयमा सांसद बस्नेतले विरोध गर्नुभयो । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेपछि सभामुख देवराज

घिमिरेले प्रतिपक्षी दलका सांसदरुले सरकारको जवाफ माग गरेको विषयमा ध्यानाकर्षण भएको र बसेर सभाको काम कारबाही अगाडी बढाउन सहयोग आग्रह गर्नुभयो । 

सभामुख घिमिरेले पटक–पटक आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदहरुले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button