लमहीमा जारी पिएम कपमा पुलिस क्लबले दियो कर्णालीलाई १४८ रनको लक्ष्य

लमही । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले कर्णाली प्रदेश टिमलाई १४८ रनको विजयी लक्ष्य दिएको छ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो ।
पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ३६ रन बनाएर क्याच आउट भए । यस्तै, दिलीप नाथले ५९ बलमा २ चौकासहित ३४ रन बनाएर दिवान पुनको बलमा एलबीडब्लू भए ।
पुलिसका लागि ९ विकेट गएको अवस्थामा श्रवण यादव र सागर ढकालले ३९ रनको साझेदारी गरे मध्यम लक्ष्यमा पुर्याए ।
अन्तिम विकेटका रुपमा आएका सागर ढकालले अविजित २२ रन जोडे ।
पुलिसका लागि कुशल भुर्तेलले १ रन, अमित श्रेष्ठ ७ रन, आरिफ शेख २ रन, गुल्सन झा ८ रन, ललित राजवंशी ७ रन, करण केसी ६ रन, श्रवण यादव ११ रन बनाएर आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरी पहिलो बलमा बोल्ड भए ।
कर्णालीका लागि अर्जुन चनाराले ४ विकेट लिँदा कप्तान दिवान पुनले ३ विकेट लिए । यसैगरी, दिनेश अधिकारी, दिपेन्द्र रावत, सुनिल धमलाले समान १/१ विकेट लिए ।
१४८ रनको विजयी लक्ष्य पछ्याउन कर्णालीले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ
कर्णाली प्रदेश टिम पाँचौँ स्थानमा छ । आजको खेल जित्न सके कर्णालीलाई शीर्ष चारमा पुग्न सहज हुनेछ ।
अहिलेसम्म ७ खेल खेलिसकेको पुलिस क्लब ७ खेलमा शतप्रतिशत जीत निकाल्दै १४ अङ्कका साथ शीर्ष स्थानमा रहँदा समान ८ खेल खेलिसकेको कर्णाली प्रदेश ४ खेलमा जीत र ४ खेलमा हार व्यहोर्दै ८ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।
प्रतिक्रिया राख्नुहोस्