तिलोत्तमा गोल्डकप : सङ्कटा अन्तिम चारमा
रुपन्देही । रुपन्देही जारी २३ औँ तिलोत्तमा गोल्डकप प्रतियोगितामा सङ्कटा एफसी अन्तिम चारमा स्थान बनाएको छ। सोमबार भएको खेलमा जर्जियन एफसी भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै सङ्कटा अन्तिम चारमा स्थान बनाएको हो ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमाञ्चक खेलमा सङ्कटाको जितमा सृजनराज गौतम नायक रहे। उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक सहित टिमलाई विजयी दिलाए । खेलको ४० मिनेटमा गौतमले गोल गर्दै टिमलाई खाता खोले । डिबक्स नजिक निर्मल घिसिङको पासमा सृजनराज गौतमले जर्जियनका किपर विवेक राईलाई बिट गर्दै सेकेन्ड बारबाट जाली चुमाए।
पहिलो हाफ १ गोलको अग्रता लिएको सङ्कटा दोस्रो हाफमा झन आक्रामक खेल प्रस्तुत गर्दै ३ गोल थप्न सफल भयो। खेलको ८६ औँ मिनेटमा सृजनराज गौतमले गोल थपे। वन भर्सेज वनमा गौतमले जर्जियनका किपर विवेक राईलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे। खेलको ईन्जुरी समयमा गौतमले थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।
मङ्गलवार मच्छिन्द्र एफसी र भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लबका बिचमा अन्तिम क्वाटर फाइनल खेल हुनेछ।
प्रतिक्रिया राख्नुहोस्