पत्रकार र सञ्चार माध्यमका कर्मचारीको दुर्घटना बीमा
बागलुङ । कार्यस्थलमा खटिने पत्रकार र सञ्चार माध्यमका कर्मचारीको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङले क्रियाशील पत्रकार, सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मी र कर्मचारीको दुर्घटना बीमा गराएको हो ।

महासङ्घले बागलुङ नगरपालिका–२ को सहयोग र नेको इन्सोरेन्स कम्पनीको सहकार्यमा बीमा गराएको हो । प्रति व्यक्ति दुई लाख रुपैयाँसम्मको दुर्घटना बीमा स्वरूप उपचार खर्च पाउने गरी बीमा गराइएको नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ ले बताउनुभयो
बागलुङ नगरपालिका–२ का अध्यक्ष सुरज बोसेलले चालु वर्षको विपत जोखिम न्युनिकरण अभियान अन्तर्गत ९९ जना पत्रकार र कर्मचारीको दुर्घटना बीमा गराउनुभएको हो । उहाँले यो अभियानलाई वडाले नियमित गर्ने समेत बताउनुभयो । पहिलो चरणमा दुई वर्षका लागि बीमा गरिएको हो ।
महासङ्घका अध्यक्ष राम थापा ‘अविरल’, वडा अध्यक्ष सुरज बोसेल र नेको इन्सोरेन्स कम्पनी लिमिटेडकी शाखा प्रबन्धक अन्जिला श्रेष्ठले बीमा पोलिसी हस्तान्तरण गरेर अभियानको थालनी गर्नुभयो । श्रेष्ठले पत्रकारको बिमाले आम नागरिकलाई पनि सचेत बनाउने बताउनुभयो । गत मङ्सिर २८ गतेको अधिवेशनबाट निर्वाचित महासङ्घको बैठकले पत्रकारको दुर्घटना बीमा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्