बाँकेमा तस्करी गरेर ल्याइएको ठूलो परिमाणमा कुखुरा बरामद
नेपालगन्ज। अवैध तस्करी गरेर भारतबाट ल्याइएको ठूलो परिमाणको बोइलर कुखुरा बाँके प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी साईगाउँका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक हरि खड्काको कमाण्डको टोलीले आज बिहान ६ बजे जानकी गाउँपालिका-२ बाट डेढ क्विन्टल अवैध बोइलर कुखुरा बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले जानकारी दिनुभयो ।
साईगाउँ प्रहरीले कुखुरा तस्करीमा प्रयोग भएका भे ७ प ९३२१ र भे ३ प १४७४ नम्बर मोटरसाइकलसहित एक जना तस्करलाई पनि पक्राउ गरेको एसपी कार्कीले बताउनुभयो । एकाबिहानै गएको प्रहरीको गस्ती टोलीले मोटरसाइकलमा सवार एक जना कुखुरा तस्करलाई पक्राउ गरे पनि अर्को मोटरसाइकलमा सवार एक जना भने मोटरसाइकल र कुखुरा त्यहीँ छोडेर फरार भएको प्रहरीले जनाएको छ ।
बेलडाँडा हुँदै कुखुरा लिएर आउने क्रममा प्रहरीले कुखुरासहित पक्राउ गरेको एक जनालाई मुद्दा चलाइने एसपी कार्कीले बताउनुभयो । जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएको बोइलर कुखुरा र मोटरसाइकलको मूल्य २ लाख ३४ हजार ५ सय रुपैयाँ रहेको छ।
बरामद गरिएको कुखुरा, मोटरसाइकल र पक्राउ परेका एक जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्