वीरगञ्ज पब्लिक कलेज राष्ट्रिय स्तरको पूँजी बजार हाजिरी जवाफ प्रतियोगितामा प्रथम
चितवन । चितवनमा जारी राष्ट्रिय स्तरको पुँजी बजार हाजिरी जवाफ प्रतियोगितामा वीरगञ्ज पब्लिक कलेज प्रथम भएको छ ।

कलेजले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस फस्ट रनर अप बनेको छ । फस्ट रनर अप बनेसँगै ३० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै ठाकुरराम मल्टिपल क्याम्पस वीरगन्ज सेकेन्ड रनर अप बनेको छ, यसले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
ग्लोबल मनी विक अर्थात् विश्व पूँजी सप्ताह अन्तर्गत आयोजना गरिएको प्रतियोगितामा २५ कलेज सहित २७ टिमको सहभागिता रहेको थियो । २७ टिमबाट प्रतिस्पर्धा गर्दै सेमिफाइनल चरणमा ८ समूह पुगेका थिए । भरतपुरको प्रेसिडेन्सी कलेजमा पहिलो चरणको प्रतियोगिता सञ्चालन भएको थियो । जसबाट सुदूर पश्चिमाञ्चल क्याम्पस, बालकुमारी कलेज कस्तुरी कलेज, मध्यविन्दु मल्टिपल क्याम्पस, ठाकुरराम मल्टिपल क्याम्पस वीरगन्ज, बोस्टन इन्टरनेशनल कलेज, वीरेन्द्र बहुमुखी क्याम्पस र वीरगञ्ज पब्लिक कलेज सेमिफाइनलमा प्रवेश गरेका थिए ।
पुँजी बजारसँग सम्बन्धित रहेर आयोजना भएको राष्ट्रिय स्तरको प्रतियोगिताको फाइनल भरतपुरको दियालो फुडल्याण्डमा भएको थियो । “थिंक बिफोर यू फलो वाइज मनी टुमारो” भन्ने मुल नारासहित वित्तीय क्षेत्रलाई समेट्ने गरेर आयोजना भएको यो पहिलो राष्ट्रिय स्तरको कार्यक्रम हो ।
कार्यक्रममा बिद्यार्थीहरुलाई वित्तीय सचेतना तथा लगानी र पुँजी बजारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
हरेक वर्ष मार्च १७ देखि २३ सम्म यो विश्वभर मनाउँदै आइएका कार्यक्रम अहिले १३ संस्करणको रुपमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्