डा. पौडेलको ‘साहस’ प्रकाशित
काठमाडौँ । मानव बेचबिखनबाट फर्किएका महिलाबारेको अनुसन्धानमा आधारित समाजशास्त्री डा. मीना पौडेलको पुस्तक ‘साहस’ प्रकाशित भएको छ । बेचबिखनबाट फर्किएका विभिन्न १८ जिल्लाका २८ महिलाको जीवन भोगाइको अनुसन्धानबाट तयार पारिएको उक्त पुस्तक किताब पब्लिसरले बजारमा ल्याएको हो ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा. पौडेलले साहस एक पुस्तक मात्र नभई मानव बेचबिखनविरुद्धको आक्रोश र विद्रोह रहेको जनाउनुभयो । पुस्तक तयार पार्ने क्रममा सम्पादक पारसप्रकाश नेपालले आफूलाई धेरै घचघचाउनुका साथै सहयोग गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा डा. पौडेलको पुस्तकमाथि टिप्पणी गर्दै लैङ्गिक विश्लेषक डा. बिन्दु पोखरेलले नेपालको महिला आन्दोलन अझै रणनीतिक रुपमा चल्न नसकेको र यसले गर्दा नेपाली समाजमा रहेको संरचनागत विभेद हटाउन नसकिएको विचार राख्नुभयो । बेचबिखनबाट फर्केका महिलालाई सामाजिक अन्तर घुलनमा पर्ने समस्याका विषयमा पनि पुस्तकमा उजागर गरिएको उहाँले जनाउनुभयो ।
मानव शास्त्री डा. सुरेश ढकालले पुस्तकमा बेचबिखनबाट फर्केर आएका महिलाले समाजमा आएर विभिन्न तहमा भोग्नुपरेको वन्चितिकरण र अपहेलनालाई पुस्तकमा प्रस्ट्याइएको बताउनुभयो ।
लेखक जेबी विश्वकर्माले नेपाली समाजमा शक्तिशालीले कमजोर वर्गमाथि गर्ने अन्याय र अत्याचारलाई साहसमा प्रतिबिम्बित गरिएको प्रतिक्रिया दिनुभयो । उहाँले पुस्तकमा समाजवादी महिलावादलाई पनि उजागर गरिदिएको भए अझै उत्तम हुने सुझाव दिनुभयो ।
नेपाली भाषामा प्रकाशन हुनु अगाडि नै उक्त पुस्तक अङ्ग्रेजी, स्पेनी, जर्मन लगायतका ६ भाषामा प्रकाशित भइसकेका छन् । पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाइको खाँचो औँल्याएको छ ।
पुस्तकमा बेचबिखन जस्तो जघन्य अपराधमा घचेटी सामाजिक –सांस्कृतिक, आर्थिक, राजनीतिक/कानुनी रुपमा बहिष्कार गरिएका र त्यसका परिणाम भोग्न बाध्य पारिएका महिलाले गरेको प्रतिरोधको रणनीतिक साहसलाई मिहिन ढंगले विश्लेषण समेत गरिएको छ ।
डा. पौडेलले त्रिविबाट मानव शास्त्रमा स्नातकोत्तर र संयुक्त अधिराज्यबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तरसम्बन्धमा विद्यावारिधि गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्