पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम गर्दैन: मन्त्री पौडेल

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने स्पष्ट पार्नुभएको छ ।
नेपालगञ्जमा आज नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पौडेलले पूर्व विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा बढाउने गरी विधेयक अघि नबढ्ने बताउनुभयो । मुलुकलाई आर्थिक भार थपिने गरी काम नहुने भन्दै उहाँले मितव्ययिताका साथ सरकारले काम गर्ने बताउनुभयो ।
मन्त्री पौडेलले सांसदहरूको सङ्ख्या ठूलो भएकाले संविधान संशोधन गर्दा सङ्ख्या घटाउने गरी काम गर्न आफूले पनि प्रस्ताव गरेको प्रसङ्ग निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी रहने शासकीय स्वरूपले भने निरङ्कुशता र स्वेच्छाचारिता बढाउने दाबी गर्नुभयो । उहाँले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले नवीन ढंगले काम गर्ने कोशिस गरिरहेको बताउनुभयो । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्