प्रधानमन्त्री रोजगार कार्यक्रमले फेरिएको जीवन
नेपालगन्ज । लिला गौतमलाई खुसीको कुनै सीमा छैन । छोरा अर्जुनले प्रहरी नायव निरीक्षक (असई) मा नाम निकालेपछि उहाँलाई अब दुःखका दिन सकिए झैँ लागेको छ । ‘जीवनको सबैभन्दा खुसी मिलेको दिन हो मेरो,’ उहाँले भन्नुभयो–‘अब कान्छो छोरा तुल्सीरामलाई कसरी पढाउने चिन्ता पनि छैन । दाइले हेरिहाल्छ अब ।’
कोहलपुर नगरपालिका वडा नम्बर ५ शान्तिनगरकी ३९ वर्षीया लिलाले छोरालाई यहाँसम्म पुर्याउन गरेका दुःख कम छैनन् । र, छोराले आमाको दुःखलाई सुखको अनुभूति दिलाए । सरकारी जागिर गरौँ पढाई छैन । ज्याला मजदुरी गरौँ भनेको बेला नपाइने । उहाँ कामको खोजीमा भौंतारिरहनुभएको थियो । किनकि त्यतिबेला काम पाइने अवस्थै थिएन । कोरोना महामारीले मुलुक लकडाउनमा थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकाले बेराेजगारहरुलाई काम दिन लागेको कुरा उहाँले सुन्नुभयो । आवेदन दिनुभयो । र, सय दिन काम पाउनुभयो । त्यही रकमबाट उहाँले छोरालाई असईको तयारी गर्न काठमाडौँ पठाउनुभयो ।
छोरा अर्जुनले पनि आमाको सपनालाई पूरा गरिदिनु भयो । असईमा नाम निस्कियो । ‘सायद कोहलपुर नगरपालिकाले एक सय दिन बराबरको रोजगारी नदिएको भए मैले छोरालाई पढाउन सक्ने थिइनँ,’ उहाँले भन्नुभयो–‘कहिलेकाहीँ थोरै रकमले पनि अतुलनीय मूल्य बराबरको खुसी दिँदो रहेछ ।’ श्रीमान् खगेन्द्र प्रसाद गौतम नेपाल प्रहरीबाट सेवा निवृत्त हुनुभयो । उहाँ कतारमा हुनुहुन्छ । उतै दुर्घटनामा पर्नुभयो । ज्यान त जोगियो । तर सोचे जस्तो कमाई गर्न सकिरहनुभएको छैन । घरपरिवार चलाउने, दुई छोरालाई पढाउने सबै जिम्मेवारी लिला को काँधमा छ । घर बनाउन लिएको ऋणको भारीले उहाँलाई धेरै समय थिच्यो । आयस्रोत आउने ठाउँ कतै नभएको बेला निश्चित समयको रोजगारीले पनि ठूलो उपलब्धि मिलेको लिला बताउनुहुन्छ ।
उहाँ अहिले पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनुहुन्छ । उहाँ जस्ता सयौँ बेरोजगारहरूले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट राहत पाएको बताउँछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा सञ्चालित श्रममा आधारित योजना प्रभावकारी हुँदा त्यसको लाभ लिनेहरू खुसी भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ मा हाल कोहलपुर नगरपालिकामा १७ वटा श्रममा आधारित योजनाहरू सञ्चालनमा रहेको रोजगार संयोजक आशिष वर्मा बताउनुहुन्छ । जसमा नेपाल सरकार र युवा रोजगारीको लागि रूपान्तरण पहल (आइडिए) को श्रोतबाट योजनाहरू सञ्चालन भइरहेको छन् । कुल ३७५ जना सुचीकृत बेरोजगार व्यक्तिहरूमध्ये यस वर्ष आइडिएमा ४० जना र नेपाल सरकारको श्रोतबाट ७० जना गरी जम्मा ११० जनाले रोजगारी प्राप्त गरिरहेको संयोजक वर्माले बताउनुभयो । उनीहरूले एक सय दिन बराबरको ज्यालादारी काम प्राप्त गर्छन् । आइडिएको श्रोतबाट ४० जना सुचीकृत बेरोजगार व्यक्तिहरूले ५० दिनको सीपमूलक तालिम र ५० दिन बराबरको रोजगारी प्राप्त गर्ने पनि उहाँले बताउनुभयो । त्यसका लागि करिब २३ लाख बराबरको बजेट विनियोजन भएको छ ।
प्रतिक्रिया राख्नुहोस्