तपाईँ सुन्दै हुनुहुन्छः

एसइईलाई मर्यादित बनाउन मन्त्री भट्टराईको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । 

आज ‘भर्चुअल’ माध्यमबाट मधेस प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखसँगको बैठकमा उहाँले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई जबाफदेही ढङ्गले सञ्चालन गर्न आग्रह गर्नुभयो । 

उहाँले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखसमेत जिम्मेवार हुनुपर्ने बताउनुभयो । “परीक्षाको गुणस्तर कायम राख्न र अन्य अवाञ्छित क्रियाकलापलाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ । सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध छ । परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायको सहयोगको आवश्यक छ”, उहाँले भन्नुभयो ।  

यस वर्षको एसइई परीक्षा यही चैत ७ देखि १९ गतेसम्म देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुँदैछ । परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् ।  

परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएका छन् । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी र अन्य पाठ्यक्रमका विषयको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी दुई दिनमा ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button