तपाईँ सुन्दै हुनुहुन्छः

बनको डढेलो बस्तीमा पस्दा टक्सारमा सात घर गोठसहित १२ र दलगाउँमा पाँच घर नष्ट 

भोजपुर । नजिकैको सामुदायिक बनमा लागेको डढेलो गाउँ बस्तीमा आई पुग्दा भोजपुर नगरपालिका वडा नम्बर १२, पैयापानीका सात घर र आठ पाली जलेर नष्ट भएका छन् ।

आगलागीबाट स्थानीय पैयापानीमा रहेका सात वटा घरमा क्षति भएको छ भने आठ वटा पाली पनि जलेका छन् । आगलागीबाट स्थानीय चन्द्र प्रसाद सुवेदीको घर, शम्भु चापागाईँको पाली, सोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईँको पाली, रुद्र प्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, राम बहादुर कार्कीको घर र पाली, शेखर धमलाको घर र तीर्थप्रसाद सुवेदीको घर र पाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अत्यधिक हावाहुरीका कारण आगो नियन्त्रणमा लिन समस्या भएका कारण क्षति बढेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । सोमवार करिब साढे १२ बजेबाट ती घरहरूमा आगोले भेटको थियो । आगलागीबाट ढुङ्गा माटोले बनेका घरहरूमा क्षति पुगेको हो । आगो नियन्त्रणको प्रयास भई रहेको भए पनि नियन्त्रण हुन सकिरहेको छैन ।

सोमवार बिहान साढे नौ बजेको समयमा पारपानी टङटङ्गेडाँड स्थित इनामे सामुदायिक वनमा आगलागी भएको टक्सार विमानस्थल सुरक्षा गार्ड टक्सारमा खबर प्राप्त हुँनासाथ तत्काल प्रहरी सहायक निरीक्षक गणेश खडकाको कमाण्डमा ७ जना प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच गुल्म हेड क्वाटर टक्सार भोजपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक उत्तम कुमार श्रेष्ठको कमाण्डमा १५ जनाको टोली र भोजपुर नगरपालिकाको दमकल तथा स्थानीयहरूको सहयोगमा आगो निभाउने कार्य भई थालिएको थियो । 

आगलागीको क्रम नरोकिएपछि थप मद्दतका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक हिरण कुमार सिंहको कमाण्डमा ११ जनाको टोली र नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण भोजपुरबाट सहसेनानी बाबुकाजी बस्नेतको कमाण्डमा २८ जनाको टोली खटिएको थियो । आगलागी नियन्त्रणका लागि भोजपुरका प्रहरी प्रमुख डिएसपी युवराज तिमिल्सिनाको कमाण्डमा १० जना, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ गुल्म हेड क्वाटर टक्सारका प्रमुख डिएसपी देवेन्द्र बहादुर थापाको कमाण्डमा १५ जनाको टोली पनि आगलागी स्थल मै रहेको प्रहरीले जनाएको छ । 

यता हावाहुरीसँगै आगलागी हुँदा रामप्रसाद राई गाउँपालिकाको वडा नम्बर ४ दलगाउँ केराबारीमा पनि पाँच घर भन्दा बढी जलेर नष्ट भई सकेको छ । वडाध्यक्ष बाबु कुमार राईले आगलागी पूर्णरुपमा नियन्त्रणमा आई नसेकेको हुनाले क्षतिको विवरण अझै बढी हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button