स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता

काठमाडौँ । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो ।
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिकका लागि अधिक छुटमा उपलब्ध गराउने छ ।
सरकारको भन्सार तथा मूल्य अभिवृद्धि छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा उच्च गुणस्तरको भन्दै आयात भइरहेको छ । अब सम्झौताअनुसार तिलगंगाले ती लेन्स देशका नागरिकले प्राप्त गर्नका लागि हालको रकममा छुट प्रदान गर्नेछ ।
यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउनेछ ।
मन्त्रालयले तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका निकायहरू मार्फत समन्वय र सहकार्य गने सम्झौतामा छ ।
यसैगरी, कार्यक्रम सञ्चालन भइरहेका जिल्लाहरूमा आँखा कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने मन्त्रालयले सम्झौता गरेको छ ।
मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पश्चात् उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानून बमोजिम भन्सार तथा मूल्य अभिवृद्धि कर सहुलियतका लागि सिफारिस प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाले आँखा कार्यक्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ ।
सम्झौता आदानप्रदान पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डाक्टर सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिस्तरमा ख्याति प्राप्त डा. रुइत नेतृत्वको कामलाई राज्यका तर्फबाट मूल्याङ्कन गर्दै थप सहयोग पुर्याउनुपर्छ भनेर सम्झौता गरिएको बताउनुभयो ।
‘उहाँले आँखा उपचारमा अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता आर्जन गर्नुभएको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘संसारमै लेन्स उत्पादनमा विख्यात बनेको नाम सन्दुक रुइत र उहाँको कामलाई थप कसरी सघाउन सकिन्छ, आगामी दिनमा पनि हामी सघाउन तयार छौँ ।’
डाक्टर रुइतले स्वास्थ्य मन्त्री पौडेल सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
‘स्वास्थ्य मन्त्रीज्यूले सुधारका लागि सक्रिय भएर लागिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘हामी हातेमालो गर्न तयार छौँ । हामीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धाका लागि सघाउन आग्रह गर्दछु । ’
प्रतिक्रिया राख्नुहोस्