ताप्लेजुङ केबलकार : आन्दोलनरत पक्षबाट वार्ता सहजीकरण समिति गठन
ताप्लेजुङ । सरकारले पाथीभरा (मुक्कुम्लुङ)मा केबलकार निर्माण विरोधको पक्षमा रहेकालाई लिखित रूपमा पत्र पठाएसँगै आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको छ ।
आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय १० सदस्यीय समिति गठन गरेको जनाएको हो । वार्ता सहजीकरण लागि सरस्वता सिंघक (सरु)को संयोजकत्वमा समिति चयन गरेको छ ।
समितिमा कुमार लिम्बू, सूर्यविक्रम चेम्जोङ, धनराज हुक्पा चोङवाङ, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, सूर्यप्रकाश मावोहाङ (आलोक) र अर्जुन जुम्नेली राई लाई चयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय सङ्घर्ष समितिलाई सम्बोधन गर्दै आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सन्दर्भमा स्थानीय सरोकारवालासँग वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधानका लागि वार्तामा बस्न आह्वान गरेको थियो ।
सरकारले गृहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोलीले पुन वार्ताका लागि पत्र पठाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्