चिनियाँ पर्यटकलाई पोखरामा विभिन्न प्याकेजसहित छुट हुने
पोखरा । चीनबाट सिधै पोखरा आउने चिनियाँ पर्यटकहरूको लागि पोखरामा विभिन्न छुट सहितका प्याकेज कार्यक्रम तयार पारिएको छ ।

यही चैत ५ गते चीनको सिचुवान प्रान्तको छेन्दु सहरदेखि १ सय २७ जना चिनियाँ पर्यटक लियर सिचुवानको एयरलाइन्स पोखरा आउने भएसँगै पोखरामा ७ रात ८ दिनको विभिन्न प्याकेज कार्यक्रम तयार पारिएको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले बताउनुभयो ।
पोखरामा व्यवसायीक चार्टर्ड फ्लाइटमा आउने पर्यटकहरूको लागि न्यूनतम १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जनाउनुभयो । पोखरा क्षेत्रका पर्यटकीय स्तरका होटल आवासमा चिनियाँ पर्यटकहरूलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।
त्यसै गरी पोखरा आउने पर्यटकहरूको लागि नाट्टा गण्डकीले विशेष छुटमा प्याकेजमा पोखरा क्षेत्र, पोखरा हुँदै लुम्बिनी, पोखरा देखि सौराहा र पोखरादेखि विभिन्न पदमार्गमा लैजाने गरी तयारी गरेको छ ।
पोखरामा प्याराग्लाइडिङ उडानमा १० प्रतिशत छुट हुने भएको छ । चिनियाँ पर्यटक सहित पोखरा भ्रमण वर्षको अवसरमा साहसिक खेल प्याराग्लाइडिङ उडानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको हवाई खेलकुद संस्था नाका अध्यक्ष अनिल केसीले बताउनुभयो ।
८ हजार ५ सयको प्याकेज हाल सिधै कम्पनीहरूमा जाँदा छुटसहित ७ हजार ५ सयमा उपलब्ध हुने उहाँले जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्