तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा जनशक्ति अभावले अन्धोपना निवारणमा चुनौती कायमै

सुर्खेत । कर्णालीमा आँखा उपचारका क्षेत्रमा दक्ष जनशक्ति अभावले अन्धोपना निवारणमा चुनौती कायमै रहेको पाइएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगर शुरु भएको नेपाल नेत्र सहायक परिवारको प्रथम कर्णाली प्रदेश सम्मेलन तथा अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै सुर्खेत आँखा अस्पतालका प्रबन्धक घनबहादुर थापाले कर्णाली प्रदेशका दशै जिल्लामा वार्षिक ९ हजार नागरिकको मोतिया विन्दु शल्यक्रिया गर्नुपर्ने लक्ष्य रहे पनि दक्ष जनशक्ति अभावले ६ हजार नागरिकको मात्र शल्यक्रिया हुने गरेको जानकारी दिनुभयो । 

उहाँले सुर्खेत आँखा अस्पतालले हाल प्रदेशका १० जिल्लाका दुई लाख नागरिकलाई वार्षिक बहिरङ्ग सेवा पुर्‍याइरहेको बताउनुभयो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सुर्खेत आँखा अस्पतालको समन्वयमा प्रदेश स्तरीय आँखा स्वास्थ्य रणनीति २०८०/०८१ बने पनि पर्याप्त बजेट अभावले सोचेजस्तो प्रगति हुने नसकेको उहाँको भनाइ थियो । 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले कर्णालीको अन्धोपना निवारणमा प्रदेश सरकारले महत्वपूर्ण नीतिगत कार्यहरू गरे पनि पालिका स्तरसम्म पुग्न स्थानीय सरकारहरूले आफ्नै स्रोतसाधनले जनशक्ति व्यवस्थापनमा जुट्न आवश्यक रहेको औँल्याउनुभयो । 

कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक तथा नेत्र विशेषज्ञ डा.शक्तिप्रसाद सुवेदीले आँखा उपचार सेवालाई आधारभूत सेवाका रुपमा जनस्तरसम्म पुर्‍याउन स्थानीय स्तरका प्रत्येक अस्पतालमा एक जना नेत्र सहायकको दरबन्दी अनिवार्य गर्नुपर्ने औँल्याउनुभयो । 

कार्यक्रममा नेपाल नेत्र सहायक परिवारका केन्द्रीय अध्यक्ष रमेश घिमिरे र महासचिव रमेश प्रधानले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा हालसम्म २ हजार ४ सयको सङ्ख्यामा दर्ता भए पनि देशैभर ३ हजार बढी नेत्र सहायक जनशक्ति रहेको बताउनुभयो । 

प्रदेश सम्मेलन तथा अधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश अध्यक्ष लीलाराम सुवेदी, सुर्खेत जिल्ला अध्यक्ष रामलाल आचार्य, सुर्खेत आँखा अस्पतालका निर्देशक डाक्टर मञ्जु पन्त र नेत्र ज्योति संघ कर्णाली प्रदेश संयोजक देवप्रसाद गौतमले कर्णालीको अन्धोपना निवारणमा नेत्र सहायकको भूमिका महत्वपूर्ण रहेको बताउँदै सरकार तथा गैरसरकारी सबै स्वास्थ्य संस्थामा अनिवार्य एक जना नेत्र सहायकको दरबन्दी स्थापना गर्न आवश्यक रहेको औँल्याउनुभयो । 

अधिवेशनमा लामो समयदेखि कर्णाली जस्ता दुर्गम क्षेत्रमा रहेर आँखा उपचारमा महत्वपूर्ण योगदान गर्ने ७ जना नेत्र सहायकलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button