बाढी पछिको पुनर्निर्माण तथा गुठीको समस्या समाधान गर्न प्रयासरत छु : प्रचण्ड

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची भेगको समस्या समाधानका लागि आफ्नो विशेष चासो र चिन्ता रहेको बताउनुभएको छ ।
आफु पछिल्लो पटक प्रधानमन्त्री हुँदा यहाँको पानी लगेबापत यहाँको जनताले पाउनुपर्ने सुविधा दिलाउने प्रयास गर्दागर्दै सरकार ढलेको बताउँदै अन्तिमसम्म लेविको सुनिश्चितता गर्नेगरी लाग्ने प्रतिबद्धता जनाउनुभयो । सिन्धुपाल्चोकको नेकपा माओवादी केन्द्र मेलम्ची नगर समितिको तेस्रो नगर सम्मेलन तथा सहिद प्रतिष्ठान भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मेलम्ची बाढीले क्षति पुर्याएको संरचनालाई पुनर्निर्माण र पुन:स्थापनाको कामलाई जोडदार ढंगले सदनमा उठाउने विश्वास दिलाउनुभयो ।
जुन मात्रामा सरकारले काम गर्नुपर्थ्यो त्यो हिसाबले काम नभएको भन्दै उहाँले गुठी विधेयक छिटो भन्दा छिटो ल्याउन र यहाँको जनताको पक्षमा काम गर्नका लागी आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । सिन्धुपाल्चोकमा गुठीको समस्या धेरै रहेकाले त्यो समस्या समाधान गर्न समेत आफूले पहल लिने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले राजतन्त्र अब सम्भावना नरहेकाले त्यसतर्फ नलाग्न चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा, बागमती केन्द्रिय सदस्य युवराज दुलाल, सरल सहयात्री लगायतले सम्बोधन गर्दै विकासका काममा माओवादी अघि रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा शहिद प्रतिष्ठान भवन निमार्णमा जग्गा दान गर्ने, सहयोग गर्ने उपभोक्ता समिति लगायतलाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्