‘इलाम साहित्य महोत्सव सुरु’, तीन देशका सर्जक एकै थलोमा

इलाम । इलाममा आजदेखि दुई दिने ‘इलाम साहित्य महोत्सव’ सुरु भएको छ । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा चौथो साहित्य महोत्सव पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको जनाइएको छ ।
‘पर्यटनका लागि साहित्य’ नारा सहित थालिएको महोत्सवमा विभिन्न विषयमा बहस हुने समाजका सचिव रोशन राईले बताउनु भएको छ । महोत्सवमा नेपाल, भारत र बङ्गलादेश लगायत देशका डेढ सय बढी सर्जक तथा साहित्य प्रेमी सहभागी हुने प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिनु भयो ।
महोत्सवमा चिन्तक, कवि, कलाकार, राजनीतिज्ञ समालोचक, पत्रकार लगायतको उपस्थिति रहेको छ । पहिलो दिन भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक आनन्द कुमारले ‘पर्यावरण र लोकतन्त्र’ विषयमा कि नोट प्रस्तुत गर्नु भएको छ । आजै कविता बाचन, ‘गाउँको सौन्दर्य’, ‘कला र अध्यात्म’, ‘विभेद विरुद्धका आलापहरू’, ‘कविताको पहिचान’, ‘मुन्धुम र पर्यावरण’, ‘सामाजिक सञ्जाल र मूल्य संकट’, ‘पर्यापर्यटनः अबको बाटो’ शीर्षकमा छलफल हुने तालिका छ । यो समाचार तयार पार्दा सम्म मुन्दुम र पर्यावरण विषयमा बहस चलिरहेको छ । आज साझ कविता कन्सर्ट र गजल साँझ समेत हुनेछ ।
दोस्रो दिन अर्थात् शनिबार ‘इलामले इलाम: पेशा र पैसा’, ‘युवा: सपना र सङ्घर्ष’, ‘डिजिटल दुनियाँमा सर्जक’, ‘प्राज्ञिक अनुसन्धानमा पहिचान’, ‘मन्द्राकान्ताः पात्र विमर्श’, ‘युद्धदेखि शब्दसम्म’, ‘जीवन फर्केर हेर्दा’, ‘इम्बोडिङ डाइभरर्सिटी इन साउथ एसिया थ्रु ट्रान्सलेशन’ र ‘आशा र निराशाको राजनीति’ शीर्षकमा छलफल कार्यक्रम तय गरिएको जनाइएको छ ।
साँस्कृतिक र्यालीसहित महोत्सवको उद्घाटन कार्यक्रम गरिएको छ । इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यता र नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा महोत्सव उद्घाटन गरिएको छ । कार्यक्रममा पाँच जनालाई सम्मान गरिएको छ । इलाम नगरको तर्फबाट प्रा. डा. गोविन्द राज भट्टराई (साहित्य), गोपाल कर्मचार्य (चलचित्र) डेजी बराइली (गायिका) सुभद्रा प्याकुरेल (मानव सेवा) लाई सम्मान गरिए छ भने जीवन मुकारुङ राई लाई प्रतिष्ठानको तर्फबाट सम्मान गरिएको प्रतिष्ठानका सचिव जयनारायण भट्टराईले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्