उपत्यकामा ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्रीको जोड
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नुपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ ।

सहरी विकास मन्त्रालयमा आज उपप्रधानमन्त्री सिंहले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरूसँग छलफल गर्नुभएको हो । सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्न योग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा प्रमुख र उपप्रमुखहरूले धारणा राख्नुभएको थियो ।
उपप्रधानमन्त्री सिंहले उपत्यकामा बग्ने नदीहरूलाई सफा राख्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले आफूले सहरी विकास मन्त्रालय सम्हालेदेखि नै बाग्मती र धोबी खोलामा अर्बौँ रुपैयाँ खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेका र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिन आवश्यक काम अघि बढाएको बताउनुभयो ।
छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरूले फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, सहरी पूर्वाधारको विकासमा आउने बजेटमा सम्बोधन गर्नुपर्ने सुझाव दिए । उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्न योग्य बनाउन पालिकाले गर्न सक्ने कामबारे कार्ययोजना पेस गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधन गरी अघि बढ्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्