पार्टीलाई एकताबद्ध, मजबुत र सुदृढ बनाएर लैजानुपर्छ : सभापति देउवा
धनगढी । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई एकताबद्ध, मजबुत र सुदृढ बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

धनगढीमा नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्नुहुँदै सभापति देउवाले सच्चा मनले एकताबद्ध भएर अघि बढे काँग्रेसले आम निर्वाचन २०८४ मा बहुमत प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले पार्टीभित्र आपसी मतभेद, असमझदारीलाई हटाएर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सभापति देउवाले पार्टी भित्रको अन्तर्घातलाई सदाका लागि अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन सरकार सात बुँदे समझदारी अनुसार चलिरहेको उल्लेख गर्नुहुँदै दलीय सत्ता गठबन्धन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
उपसभापति पूर्णबहादुर खड्काले काँग्रेसको अगुवाइ सङ्घीयता, समावेशी संविधान निर्माण भएको र त्यसलाई जनतासम्म लैजानुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र देखिने समस्या पार्टीभित्रै समाधान गरी मिसन २०८४ मा केन्द्रित रहनुपर्ने बताउनुभयो ।
महामन्त्री गगन थापाले अबको १० वर्ष काँग्रेसले विकास, समृद्धि, रोजगारीलाई समुदाय स्तरमा जोडेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले १५ औँ महाधिवेशन समयमै हुने स्पष्ट पार्नुभयो ।
महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्रका समय जनताको अभिव्यक्ति स्वतन्त्रता खोसिएको स्मरण गर्नुहुँदै मुलुकलाई आजको नेपाल बनाउन काँग्रेसको अग्रणी भूमिका रहेको बताउनुभयो ।
सम्मेलनमा पार्टीका सहमहामन्त्रीहरू, पूर्व पदाधिकारीहरू, केन्द्रीय सदस्यहरु लगायतले सम्बोधन गर्नुभएको थियो ।
काँग्रेस प्रदेश सभापति वीर बहादुर बलायरको अध्यक्षतामा भइरहेको सम्मेलनमा पाँच सय बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्