‘पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गयो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गएको बताउनुभएको छ ।
अखिल नेपाल महिला सङ्घले ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजित ‘जलवायु परिवर्तन र महिला: अवसर र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले महिला आन्दोलन कमजोर बनेकाले राजनीतिक दलका महिला सङ्गठनले साझा ‘एजेन्डा’ बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष शाक्यले उत्पादनशील काम नहुँदा युवा विदेश पलायन भएको धारणा राख्दै युवाको विदेश पलायन र तीव्र बसाइँसराइ हुनुमा राजनीतिक दलका घोषणापत्र पनि जिम्मेवार रहेका जिकिर गर्नुभयो । युवा विदेश पलायन हुँदा गाउँ शून्य भएका र त्यसको प्रत्यक्ष असर महिलालाई परेको उहाँको भनाइ थियो ।
उपाध्यक्ष शाक्यले मुलुक गणतन्त्रको दिशामा धेरै अघि बढिसकेकाले लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक दललाई निस्तेज पार्ने र निरङ्कुशता फर्किने कुरा सम्भव नभएको बताउनुभयो ।

एमालेका सचिव पद्मा अर्यालले महिला आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबैको प्रयासले मात्र महिला आन्दोलनलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।

अनेमसङ्घका अध्यक्ष टुका हमालले महिला आन्दोलनलाई कमजोर पार्ने कोसिस भइरहेकाले सबै राजनीतिक दलका महिला सङ्गठन सचेत हुनुपर्ने बताउनुभयो ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत पैरवीका सवाल र सम्भावना विषयमा आधार पत्र प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, अनेमसङ्घका उपाध्यक्ष डा विमला राई पौडेलले जलवायु परिवर्तन र महिला: प्रभाव, अवसर र जनप्रतिनिधि, महिला सङ्गठनको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अनेमसङ्घका प्रचार उपप्रमुख सिर्जना आचार्यले जलवायु परिवर्तनले पारेको असरलाई कम गर्न स्थानीय तहबाट हुनसक्ने पहलका विषयमा सुझाव दिइएको बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्