तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैत दोस्रो सातादेखि

रुपन्देही । रुपन्देहीको सबैभन्दा पुरानो र सर्वाधिक राशिको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो सातादेखि हुने भएको छ । प्रतियोगिताको २३ औँ संस्करण चैत ९ गतेबाट सुरु हुने भएको हो ।

आइतबार पत्रकार सम्मेलन गरी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले प्रतियोगिताको तयारी पूरा भएको बताउनुभयो । नेपालकै प्रतिष्ठित गोल्डकप मध्येको एकमा पर्ने तिलोत्तमा गोल्डकपको तयारी पूरा भएको उहाँले बताउनुभयो । ‘नेपालमा खप्तड, रारा, आहा रारा र तिलोत्तमा चार मुख्य गोल्डकप मध्ये हो ।’–उहाँले भन्नुभयो । 

प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी उपविजेता टिमलाई ६ लाख ६६ हजार ६ सय, ६६ रुपैयाँबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो । 

यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहभागी नहुने भएको छ । प्रतियोगितामा रुपन्देही–११, सङ्कटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज क्लब, थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, एडोर्न गडवाल स्पोर्टिङ क्लब, उज्वेकस्थान टिमलाई सहभागिताको लागि पत्राचार गरिएको उहाँको भनाइ छ।

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले खेलकुद पर्यटनको रुपमा विकास गर्ने गरी पूर्वाधार र खेल गतिविधि भइरहेको बताउनुभयो । चैत ९ गतेबाट १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैयाँ, ८८ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

०३३ सालमा बुटवलमा यो प्रतियोगिता सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button