तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीलाई गजल, गीत र चारु लेखन प्रशिक्षण

नवलपरासी, पश्चिम । बर्दघाट प्रज्ञा प्रतिष्ठानले विद्यार्थीलाई गजल, गीत तथा चारु लेखनसम्बन्धी दुईदिने प्रशिक्षण दिएको छ। फागुन २४ गतेदेखि सुरु भएको कार्यक्रममा गजल लेखनका विविध पक्षबारे चर्चा गरिएको थियो।

प्रशिक्षणमा प्रतिष्ठानका कुलपति तथा गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीले गजल संरचना, बहर, काफिया र रदीफको प्रयोगबारे सहजीकरण गर्नुभयो। उहाँले गजललाई प्रभावशाली बनाउन आवश्यक तत्वहरूबारे प्रशिक्षण दिँदै, “गजलका लागि काफिया मुटु जस्तै हो भने बहर फोक्सोसरह हुन्छ” भन्ने धारणा व्यक्त गर्नुभयो। साथै, सही संरचनाबिना गजल प्रभावशाली बन्न नसक्नेमा जोड दिनुभयो।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले भाषा, कला र साहित्य प्रवर्द्धनलाई प्राथमिकता दिएको बताउनुभयो। साहित्य सिर्जनामा रुचि राख्ने विद्यार्थीका लागि प्रशिक्षण प्रेरणादायी हुने उहाँको भनाइ थियो।

प्रशिक्षणमा बर्दघाट नगरका सामुदायिक तथा संस्थागत ३७ विद्यालयका शिक्षक र विद्यार्थी सहभागी भए। प्रतिष्ठानले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button