मुलुकमा सुशासनका लागि सूचना प्रविधिको विकास आवश्यक : नेता निधि
जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सूचना प्रविधिको विकासले मुलुकमा सुशासन, आर्थिक समृद्धि आउने भएकाले यसको लाभ सबैले लिनुपर्नेमा जोड दिनुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले आफ्नो नीजि लगानीमा वडाका विद्यार्थीहरूलाई लक्षित गरेर आज देखि निःशुल्क रुपमा शुरु गराउनु भएको कम्प्युटर प्रशिक्षणको उद्घाटन गर्दै उहाँले सूचना प्रविधिको विकास तीव्र रुपमा भइरहेको र विश्व समुदाय एउटा गाउँमा परिणत हुन थालेको बताउनुभयो ।
पूर्व गृहमन्त्री समेत रहनुभएका निधिले मुलुकमा आर्थिक अनुशासन कायम गर्न, सामाजिक, राजनीतिक तथा आर्थिक विकासमा सूचना प्रविधिको ठूलो योगदान भएको हुनाले सूचना प्रविधिको ज्ञान हरेकमा हुन जरुरी रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले सूचना प्रविधिको ज्ञान हुनेको विश्वमा माग भएकाले वडाध्यक्षले नीजि लगानीबाट शुरु गर्नुभएको कम्प्युटरको प्रशिक्षण कार्यक्रम निक्कै महत्वपूर्ण भएको बताउनुभयो ।
अध्यक्षको आसनबाट बोल्दै जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले आफूले पहिलो चरणमा निःशुल्क कम्प्युटर प्रशिक्षणको शुभारम्भ गरेको र यसको सफलता भएपछि नीजि लगानीबाट विदेशमा जाने युवाहरूलाई लक्षित गरेर पलम्बर, ईलेक्ट्रीकल सहितका अन्य प्राविधिक विषयको प्रशिक्षण दिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्