दुर्गा लामिछाने: सर्प उद्धारकर्तादेखि आपतकालिन सेवाका सारथी

नवलपरासी, पश्चिम।”दुर्गा भाइ, दुर्गा दाइ, दुर्गा बाबु, हाम्रो घरमा सर्प पस्यो, तुरुन्तै आउनु पर्यो!” यस्तै फोनको घण्टी बज्नेबित्तिकै दुर्गा लामिछाने हरदम सेवामा सक्रिय हुन्छन्। दिन होस् या रात, जुनसुकै समयमा पनि उनी सहयोगका लागि तत्पर रहन्छन्। यो उनको दैनिकी बनेको छ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी दुर्गा लामिछाने बर्दघाट नगरपालिकामा हलुका सवारी चालकको रूपमा कार्यरत छन्। आपत्कालीन समयमा आफूले सक्ने जुनसुकै काममा पनि अरूलाई सहयोग गर्न उनी तम्सिहाल्छन्। अहिले उनी बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्ता पनि हुन्। यति मात्र होइन, आगलागीका घटनामा समेत दमकल लिएर उनै दुर्गा दौडिन्छन्।
कोरोनाकालमा एम्बुलेन्स चालकको रूपमा आफ्नो स्वास्थ्यको प्रवाह नगरी उनले कैयौँको ज्यान बचाए। अहिले पनि सर्प उद्धार गर्दै हिँड्ने दुर्गाले कैयौँलाई सर्पदंशबाट बचाएका छन्। सर्पको उद्धारसँगै पर्यावरण मात्र होइन, नागरिकको ज्यान जोगाउन जोखिम मोलेर भए पनि उनी सक्रिय छन्। अहिले सर्प उद्धारकर्ताको रूपमा दुर्गा परिचित नाम बनेको छ। उनी सबैका लागि लोकप्रिय छन्।

तराईमा सर्पदंशको बिगबिगी नै छ। गर्मी समयसँगै सर्प देखा पर्ने हुँदा उत्तिकै त्रास हुने गर्दछ। घरमा होस् या अन्यत्र, सर्प देख्नेबित्तिकै उनलाई खबर आइहाल्छ। उनी प्लास्टिकको ड्रम र स्नेक स्टिक लिएर दौडिहाल्छन्। उनले सर्प मार्नु हुँदैन, यो हाम्रो पर्यावरणका लागि आवश्यक छ भन्ने जनचेतना समेत फैलाएका छन्।
समय र परिस्थिति अनुसार हरेक काममा घुलमिल हुने र सहर्ष स्वीकार गर्ने उनको बानीले उनी सबैका प्रिय छन्। “मैले कोरोना महामारीमा बिरामी बोकेँ, कोरोनाका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनमा पनि जुटेँ, अहिले सर्प समाउँदै हिँड्छु। म एउटा कर्मचारीको हिसाबले भन्दा पनि मेरो ठाउँ हो, गर्नुपर्छ भन्ने लागेर गर्छु,” उनले मुस्कुराउँदै भने। पछिल्लो समय सबैबाट सहयोग र राम्रो प्रतिक्रिया पाइरहेको उनी बताउँछन्। अहिले विभिन्न सङ्घसंस्थाले उनलाई सम्मान गर्दै आइरहेका छन्। यसबाट निकै ठूलो आत्मसन्तुष्टि र सेवाप्रति थप ऊर्जा मिलेको उनको भनाइ छ।
बर्दघाट नगरपालिकाले सर्प संरक्षणसँगै सर्पदंशबाट नागरिकलाई बचाउने कार्यमा खटिएको भन्दै उनलाई नियमित प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको छ। “नगरपालिकाले निकै सहयोग गरेको छ, यो नगरको पनि दायित्व हो। मेयरसाबले मलाई निकै सहयोग गर्नुभएको छ, आफ्नो निजी मोटरसाइकल दिनुभएको छ। काम मैले गरे पनि यसको श्रेय त मेयरसाबलाई पनि जान्छ नि, यो वातावरण उहाँले नै मिलाइदिनुभएको हो,” उनले भने।
“सबैको बुझाइ एकै हुन्छ भन्ने छैन। कुनै समय मलाई जागिरबाट निकाल्न समेत केही मान्छे लागे, तर मेयर साब मेरो कामप्रति सकारात्मक भएर हर प्रयासका बाबजुद पनि म जोगिए। सबैको साथ छ, आफ्नो कर्म खाने हो, इमान्दारिता देखाउनुपर्छ। केही नहुन्जेल पो केही हुन्न, फ्याट्ट टोक्यो भने त मेरो ज्यान जान पनि त सक्छ, त्यो कुरा सबैले सोच्दैनन्,” दुर्गाले भने।
देखेको कुरा मनमा अड्याउन नसक्ने र तत्काल प्रतिक्रिया दिने बानीले केही उनको यो शैलीप्रति असन्तुष्टि समेत जनाउँछन्। तर नजिकबाट जान्नेहरू उनलाई मेहनती, परिश्रमी र कोमल हृदयको रूपमा बुझ्छन्। “उ अलि फरक स्वभावको पनि छ, प्याट्ट बोलिहाल्छ तर कामप्रति इमान्दार छ। जे काम परिआए पनि खटिहाल्छ, सबैको उद्धार गरेको छ, देख्नुभएकै छ,” दुर्गाका नजिकका साथी सन्तोष गुरुङले भने।
दुर्लभ विषालु रसेल्स भाइपर, गोमन, करेत, अजिङ्गर जस्ता सयौँ सर्पको उद्धार गरेका दुर्गा अचेल सधैँ व्यस्त देखिन्छन्। घरमा, गोठमा र अप्ठ्यारो ठाउँहरूमा प्रायः सर्प भेटिने हुनाले समात्न कठिनाइ हुने गरेको भए पनि अचेल बानी पर्दै गएको उनको भनाइ छ। हालसम्म झन्डै ४ सयभन्दा बढी सर्पको उद्धार गरिसकेको उनी बताउँछन्।








प्रतिक्रिया राख्नुहोस्