तपाईँ सुन्दै हुनुहुन्छः

चीन नेपालको पुरानो विकास साझेदार हो: उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले छिमेकी मुलुक चीन नेपालको विश्वासिलो र सर्वकालिक बिकास साझेदार भएको बताउनुभएको छ। 

निजामती कर्मचारी अस्पतालमा चीनको सहयोगमा स्थापित अन्धोपन रोकथामका लागि लाइफलाइन एक्सप्रेस केन्द्रको शुभारम्भ गर्दै उपाध्यक्ष घिमिरेले नेपालको स्वास्थ्य, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रको विकासका लागि चीनको सहयोग गर्दै आएको चीन विश्वासिलो र सर्वकालिक विकास साझेदारको रुपमा रहेको धारणा राख्नुभएको हो । 

‘चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो।’ उहाँले भन्नुभयो ‘नेपाल र चीन पुरानो मित्र, असल छिमेकी तथा विश्वासिलो साझेदारको रूपमा परिचित छौँ।, नेपाल–चीन सम्बन्ध आपसी सहयोग, समझदारी, एक–अर्काका संवेदनशीलताको कदर र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको बलियो जगमा आधारित रहेको छ।’

उपाध्यक्ष घिमिरेले चीनले कोभिड महामारीको समयमा गरेको भ्याक्सिन लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको सहयोग देखि भौतिक पूर्वाधारको विकास, व्यापार तथा पर्यटन तथा जनस्तरको सम्बन्ध पनि चीन र नेपाल सम्बन्धको विशिष्ट परिचय बनेको बताउनुभयो । ‘नेपालले लिएको विकास लक्ष्य अनुसार सन् २०२६ सम्ममा हामी अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्न गइरहेका छौँ। विकासको यस राष्ट्रिय आकाङ्क्षालाई हासिल गर्न चीनको सदाझैँ सहयोग रहनेमा हामी विश्वस्त र्छौं।’उहाँले भन्नुभयो । 

नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको बताउँदै उहाँले एक चीन सिद्धान्तलाई हामीले दृढताका साथ पालन गर्दै आएको पनि दोहोर्‍याउनुभयो । यस वर्ष चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले विगत ७० वर्षमा हाम्रो सम्बन्ध निरन्तर बलियो हुँदै बहुआयामिक क्षेत्रमा विस्तारित हुँदै आएको हामीले प्रत्यक्ष देखेको बताउनुभयो ।‘सांस्कृतिक तथा आर्थिक–सामाजिक हिसाबले हाम्रो सम्बन्ध कूटनीतिक सम्बन्धभन्दा निकै नै पुरानो रहेको छ।’ उहाँले भन्नुभयो ‘सुमधुर र समस्या–रहित हाम्रा दुई राष्ट्र बिचको सम्बन्ध चिर कालपर्यन्त रहिरहनेछ।’

कार्यक्रममा साङ्घाई कोअपरेसन अर्गनाइजेशनको गुड नेवरलिनेश, फ्रेंडसिप एण्ड कोअपरेशन कमिशनका उपाध्यक्ष एवं नेशनल हेल्थ कमिशन अफ चाइनाका पूर्व भाइस मिनिस्टर छुइ लि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा। रबिलाल पन्थ,  नेपालका लागि चिनियाँ राजदूत श्री चेन सोङ, निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विद्याननिधी पौडेलले  पनि बोल्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button