तपाईँ सुन्दै हुनुहुन्छः

संघीय महत्वका आयोजनाहरूमा केन्द्रित हुन उपप्रधानमन्त्री पौडेलको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरू मात्र सङ्घले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गर्नु भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनाहरूमा केन्द्रित हुन आग्रह गर्नु भएको हो । उहाँले सङ्घीयतामा प्रदेश र स्थानीयतहले गर्ने काम सङ्घले गर्न जरुरी नरहेको बताउनु भएको छ । 

अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दा मात्र सङ्घीयताको अभ्यास बलियो हुने बताउनु भएको छ । 

उहाँले तयारीमा रहेका आयोजनाहरूको कार्यान्वयन  र आगामी दिनमा आवश्यक पर्ने महत्वपूर्ण आयोजनाहरूको तयारीमा ध्यान पुर्‍याउन पनि अनुरोध गर्नु भएको छ । 

अर्थमन्त्री पौडेलले विकासलाई नीतिमार्फत पनि सम्बोधन गर्न जरुरी रहेकोमा जोड दिँदै नीतिले थप क्षेत्रहरू खुल्ला गर्ने धारणा व्यक्त गर्नु भएको छ ।

अहिलेको संसदबाट यो भन्दा बलियो सरकार बन्ने सम्भावना नहरेको उल्लेख गर्दै अर्थमन्त्री पौडेले सबैभन्दा बलियो सरकार भएका सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहना अनुसार नयाँ बजेट बनाउने बताउनु भएको छ । 

शहरी विकास मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव र विभागीय प्रमुखहरू हुनुहुन्थ्यो भने ऊर्जा मन्त्रालयसँगको छलफलमा ऊर्जा मन्त्री दीपक खड्का, सचिव,विभागीय प्रमुख लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button