‘संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्छौँ’
नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सबै दललाई समेटेर संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्ने बताउनुभएको छ । महामन्त्री थापाले कसैको अधिकार नघटाई थप व्यवस्थित बनाउने गरी संविधान संशोधन गरिने बताउनुभयो ।

पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र डेमोक्रेटिक लयर्स एसोसिएसनले आज नेपालगन्जमा आयोजना गरेको ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली, सङ्घीयता र सुशासन सुदृढ हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन अघिको गठबन्धन अप्रिय बनेको अनुभव सुनाउँदै उहाँले त्यसलाई पनि मध्यनजर गर्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले उत्तेजनाको राजनीतिले मुलुकलाई फाइदा नहुने भन्दै संयमित बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । थापाले वि.सं. २०८०–९० को दशकलाई विकासको दशक बनाउनुपर्ने बताउनुभएको छ । उहाँले अबको दश बर्ष विकास, रोजगार र समुन्नतिका लागि काम गर्नुपर्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्यहरु डा. गोविन्द राज पोखरेल, मैकुलाल वाल्मीकि र रंगमति शाही, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, सहमहामन्त्री निमा गिरी, बाँके सभापति नारायण प्रसाद गौडेल, वरिष्ठ अधिवक्ता काशी राज दाहाल, अधिवक्ता प्रह्लाद बहादुर कार्की, पेशागत तथा बुद्धिजीवी विभाग लुम्बिनी प्रमुख लक्ष्मण पन्थी लगायतले सम्बोधन गर्नुभएको थियो । कांग्रेस केन्द्रीय सदस्य एवम् पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला सङ्ग्रौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्