भेरी अस्पतालमा क्याथ ल्याब सेवा प्रभावकारी, चालू आर्थिक वर्षमा करिब ५०० जनाले सेवा लिए
नेपालगन्ज । मुटु रोगको उपचारलाई सहज र प्रभावकारी बनाउन नेपालगन्जस्थित भेरी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा छ । यो सेवा अन्तर्गत कोरोनरी एन्जियोग्राफी, कोरोनरी एन्जियोप्लाष्टी, रेनल एन्जियोग्राम, पेरिकार्डियो सिन्टेसिस, पेसमेकर राख्ने लगायत मुटुसम्बन्धी विभिन्न उपचार गरिँदै आएको अस्पतालका मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डा.विकास नेपालले बताउनुभयो ।

एन्जियोग्राफीमा एउटा सानो क्याथेटर भनिने पाइप मुटुमा लगेर मुटुको नसामा औषधि पठाएर उक्त नसाहरूको ब्लकेज भए नभएको जाँच गरिन्छ । कोरोनरी एन्जियोप्लाष्टीमा ब्लकेज भएको मुटुको नसालाई क्याथेटर विधिबाट बेलुन र स्टेण्ट राखेर खुलाइन्छ । पेसमेकरमा स्थायी वा अस्थायी रुपमा मुटुको चाल कम भएको बिरामीको मुटुको चाल ठिक पारिन्छ ।
पेरिकार्डियोग्राफी सिन्टेसिस भनेको मुटुको खोलमा पानी भरिएर पानीले मुटु थिचेको अवस्थामा उक्त पानी निकालेर मुटुलाई काम गर्न सक्ने बनाउने प्रक्रिया हो । अस्पतालबाट पेसमेकर (मुटुमा ब्याट्री राख्ने) सेवा पनि प्रदान भइरहेको छ । पेसमेकर राख्ने प्रक्रिया स्थायी र अस्थायी हुन्छ । अस्थायी कुनै इमरजेन्सीको बेला राखिन्छ । कुनै बिरामीको मुटुको धड्कन एकदमै कम भएको छ भने स्थायी ब्याट्री राखिन्छ । पटक पटक मुटुको धड्कन कम भएर बिरामी बेहोस हुन्छन् भने उनीहरूलाई स्थायी पेसमेकर राख्नुपर्छ । पेसमेकर राखेपछि मुटुको धड्कन राम्ररी चल्ने डा. नेपाल बताउनुहुन्छ ।
यो आर्थिक वर्षमा मात्रै अस्पतालमा रहेको क्याथ ल्याबबाट करिब ५०० बिरामीले सेवा लिएको क्याथ ल्याबमा रहेको तथ्याङ्कले देखाउँदछ । श्रावण महिनादेखि गत फागुन १४ गतेसम्मको तथ्याङ्क हेर्दा ४८७ जना बिरामीलाई सेवा प्रदान गरिएको उपचारमा संलग्न डा.नेपालले बताउनुभयो ।
पश्चिम नेपालका अधिकांश बिरामी भेरी अस्पतालमा क्याथ ल्याब अन्तर्गतको सेवा लिन आउँछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, दार्चुला लगायतका जिल्लाका बिरामीहरूले यो आर्थिक वर्षमा उपचार सेवा लिएका छन् । ३ सय ७४ जनाले कोरोनरी एन्जियोग्राफी सेवा लिएका छन् । यस्तै १ सय २९ जनालाई एन्जियोप्लाष्टी, १७ जनालाई टेम्परेरी पेस मेकर, ११ जनालाई पर्मानेन्ट पेसमेकर, ६ जनालाई बलुन एन्जियोप्लाष्टी सेवा प्रदान गरिएको एसोसियट प्रोफेसर डा.नेपालले जानकारी दिनुभएको छ । पेरिकार्डियो सिन्टेसिस सेवा ४ जनालाई, जेनेरेटर रिप्लेसमेन्ट २ जनालाई, जेनेरेटर रिपोजिसन सेवा १ जनालाई प्रदान गरिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालको क्याथ ल्याबबाट दुई जना मुटुरोग विशेषज्ञ, एक जना फिजिसियन, दुई जना मेडिकल अफिसर, स्टाफ नर्स लगायतको जनशक्तिले सेवा प्रदान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्