तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा १८ औं खेलकुद दिवस सम्पन्न

बाँके। नेपालगन्जको सोफिया रेजिडेन्सियल स्कुलले मंगलबार १८ औं खेलकुद दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ ।

स्कुल परिसरमा आयोजित प्रतियोगितामा ५० वटा खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश आग्रवालसहित विद्यालयका अध्यक्ष केबी बसेल, प्रबन्धक सुशीला बसेल, प्रिन्सिपल सुरेश गुरुङ, भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धिताललगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

मन्त्री आग्रवालले नेपालमा खेल क्षेत्रको विकास भइरहेको उल्लेख गर्दै खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उच्च राख्न भूमिका खेल्ने बताए । उनले खेलकुद प्रवर्द्धनका लागि स्थानीय तहको सहयोग आवश्यक रहेको र विद्यालयस्तरमै खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाउनुपर्ने बताए ।

विद्यालयका प्रिन्सिपल गुरुङका अनुसार प्रतियोगितामा पिजी कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीले भाग लिएका थिए । साथै, अभिभावक, शिक्षक तथा शिक्षिकाहरूले पनि दौड प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा दौड, हाई जम्प, लङ्ग जम्प, सर्टपुट, ब्याडमिन्टन, कबड्डी, फुटबल, क्रिकेट, डोरी तान्ने खेलसमेत समावेश गरिएको थियो । चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएकोमा ब्लु हाउस च्याम्पियन बनेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button