तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

काठमाडौँ  । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटनामा परी घाइते हुने सम्पूर्ण यात्रुहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । 

सभाको आकस्मिक समयमा सांसदहरु रामहरि खतिवडा र देवेन्द्र पौडेलले धुलिखेल र बाग्लुङमा भएको सडक दुर्घटनाबारे सदनमा जानकारी गराउँदै देशभर सडक दुर्घटनामा परी घाइते भएका बिरामीको निःशुल्क उपचार हुने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद ज्ञानबहादुर शाहीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरू पठाउन नसक्दा समस्या भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समयमानै प्रमुख प्रशासकीय अधिकृत र आवश्यक कर्मचारी पठाउन माग गर्नुभयो

सांसद अनितादेवीले पाथीभरामा केबलकार निर्माणको विषयमा भइरहेको विवाद समाधानका लागि स्थानीय जनतासँग समन्वय गरेर अगाडी बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा वन्यजन्तुको आक्रमणबाट धेरैको ज्यान गइरहेको हात्ती र बाघले मान्छे मार्ने क्रम बढिरहेको भन्दै काँडे तारको लगायतको व्यवस्थापन गर्न तार बारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अमरेश कुमार सिंहले नवलपरासी पश्चिमको बोलासपुर दुई समूहबिच झडप हुँदा प्रहरीको गाडी जलाइएको, प्रहरीले गोली चलाइएको र अवस्था तनावपूर्ण बनेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सांसदहरुले निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको काम प्रभावकारी बनाइनु पर्ने, पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, नेपालको खेल क्षेत्रको पूर्वाधार विकास लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले युवा पलायन रोक्ने योजना, देशमा रोजगारीको सिर्जना, समृद्धि र पूँजी विकास योजना कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले  भन्सार नाका, सिंहदरबारका सरकारी कार्यालय र देशैभरका प्रहरी चौकीमा बेवारिसे अवस्थामा राखिएका गाडीहरूलाई प्रक्रिया पुर्‍याएर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button