तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

जेनेभा (स्वीट्जरल्याण्ड) । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको उहाँको सचिवालयले जनाएको छ । 

भेटका अवसरमा उहाँहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय २९औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गर्नुभएको थियो । 

नेपाल र अजरबैजान नाम र जि७७ सङ्गठनका सदस्यका रुपमा विकासशील देशहरूका समस्याहरू साझा रुपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका मन्त्री डा देउवाले बताउनुभएको थियो । 

मन्त्री डा देउवाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरूमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा आवाज उठाउने बताउनुभयो । 

साथै उहाँले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य प्रमुख विषय बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button