तपाईँ सुन्दै हुनुहुन्छः

तम्घास–छल्दी कालोपत्रे सडक वषौँदेखि मर्मत भएन

गुल्मी । गुल्मीको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–छल्दी सडक खण्डको विभिन्न स्थानमा भत्किएर जोखिम बढ्दै गएको छ । 

सडकको तम्घासदेखि छल्दीसम्मको ९ किलोमिटर कालोपत्रे गरिएको सडक भत्किएपछि जोखिम बढ्दै गएको हो । 

कालोपत्रे भएको केही वर्षमै गुल्मीको मदन भण्डारी राजमार्ग अन्तरगतको सडक हस्तान्तरण नहुँदै विभिन्न स्थानमा सडक भत्किएको छ । कतिपय स्थानमा नालीमा घाँस उम्रिएर सडक जोखिम बन्दै गएको छ । जसले गर्दा राजमार्ग भएर आवतजावत गर्ने सवारी साधन तथा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । 

कालोपत्रे सडक भत्किएर वषौँसम्म मर्मत नहुँदा यस भेगका नागरिकले जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको रेसुङ्गा–४ का स्थानीय कमल रानाले बताउनुभयो । उहाँले सडक मर्मतका लागि कार्यालयलाई जानकारी गराए पनि कुनै सम्बोधन नभएको गुनासो गर्नुभयो । 

सडकको छल्दी तम्घास खण्ड सदरमुकाम नजिकै रहेर पनि मर्मतमा ध्यान नजानु दुखद रहेको धुर्कोट–५ का स्थानीय जोघुलाल भण्डारीले बताउनुभयो । पक्की सडकका घुम्ती भएको स्थानमा जीर्ण सडक बनेकाले कैयौँ सवारी साधनहरू दुर्घटना हुने गरेको भण्डारीले बताउनुभयो । कालोपत्रे सडक भत्किएको बसौँ बित्दा समेत ध्यान नजानुले दुखद पक्ष रहेको उहाँले बताउनुभयो । 

सडक निर्माणको जिम्मा लिएको कालिका प्यासिफिक कम्पनीले ९ किलोमिटर सडक क्लियर गरेर नदिएकाले सो सडक हस्तान्तरण हुन सकेको छैन । सडक हस्तान्तरण नहुँदा मर्मत सम्भारमा समेत समस्या परेको मदन भण्डारी योजना कार्यालय तम्घासका प्रमुख इन्जिनियर रमेश चौधरीले बताउनुभयो ।

सडक निर्माणका लागि ३६ करोड ४४ लाखको इस्टिमेट गरेर २१ करोड १० लाख ९४ हजारमा निर्माण व्यवसायीले निर्माणको सम्झौता गरेका थिए । तर, सम्झौता अनुसार काम नसकेपछि दुई पटक थप गरेर अन्तिम म्याद २ चैत २०७६ को दिइएको थियो ।  

सम्झौता रकममध्ये २० करोड ६९ लाख ७० हजार भुक्तानी भइसकेको छ । ठेक्का हस्तान्तरण पूर्व निर्माण व्यवसायीले गर्नुपर्ने मर्मत–सम्भारका काम नगरेपछि बाँकी भुक्तानी भने रोकिएको थियो । 

कार्यालयले भुक्तानी रोकेपछि निर्माण व्यवसायीले मुद्दा दर्ता गरेका थिए । निर्माण व्यवसायीले मुद्दा जितेपछि फेरि विभागले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । उच्चले पनि निर्माण व्यवसायीकै पक्षमा फैसला गरेको थियो । विभागले फेरि सर्वोच्चमा मुद्दा लड्ने तयारी गरेकाले सडक तत्काल मर्मत हुने देखिँदैन ।

मुद्दाको कारण स्वतन्त्र रूपमा सडकको मर्मत–सम्भार गर्न नसकिएको कार्यालयले जनाएको छ । मुद्दाको किनारा लागेपछि मात्रै मर्मतको काम गर्न सकिने उहाँको भनाइ छ ।

सम्झौता अनुसारकै काम पनि बाँकी रहेकाले पछि पनि थप समस्या देखिएको हो ।  सडकको सेउघा, छल्दी लगायतका धेरै ठाउँमा कालोपत्रे सडक दिनहुँ जीर्ण बन्दै गएको हो । यहाँ साना ठूला सवारी साधन दुर्घटनाको जोखिममा पर्ने गरेका छन् । राजमार्गको तम्घासदेखि २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो । 

त्यस बिचको तम्घास छल्दी खण्ड बाहेक अनेत्र मर्मत गर्ने कार्य भएको छ । पुरै २९ किलोमिटर सडक करिब १ अर्बको लागतमा लागतमा कालोपत्रे गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button