तपाईँ सुन्दै हुनुहुन्छः

बृहत् स्वास्थ्य शिविरमा दुई हजार बढीको उपचार 

भोजपुर । नागरिकलाई घरदैलोमा नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ भोजपुरमा सञ्चालन भएको दुई दिने विशेषज्ञ स्वास्थ्य शिविरमा दुई हजार बढीले उपचार सेवा पाउनुभएको छ । 

निजामती कर्मचारी श्रीमती संघ केन्द्रिय कार्यालय अनामनगरको आयोजनामा सदरमुकाममा रहेको विद्योदय माध्यमिक विद्यालयमा फागुन ९ र १० गते वृहत् स्वास्थ्य शिविर सञ्चालन भएको हो । 

दुई दिनसम्म सञ्चालन भएको शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको निजामती कर्मचारी श्रीमती संघ केन्द्रिय उपाध्यक्ष राधा ज्ञवालीले बताउनुभयो । विशेषज्ञ स्तरीय निःशुल्क स्वास्थ्य शिविरमा दस वटा सेवाहरू प्रदान गरिएको थियो ।

शिविरमा वरिष्ठ स्वास्थ्यकर्मीहरूबाट सामान्य चिकित्सा सेवा, छाला तथा यौनरोग सेवा, आँखा रोग सम्बन्धी सेवा, दन्त रोग, बालरोग, नाक, कान घाँटी रोग, हाडजोर्नी सेवा, मृगौला रोग तथा प्रोष्टेड सम्बन्धी सेवा,  प्रसूति तथा स्त्रीरोग, आङ खस्ने रोगको इस्क्रीनिङ, पाठेघरको मुखको क्यान्सर सम्बन्धी (भिआईए) सम्बन्धी सेवा प्रदान गरिएको छ ।

शिविरमा स्वास्थ्य मन्त्रालय, वीर अस्पताल, काठमाडौँ, कान्ति बाल अस्पताल, निजामती कर्मचारी अस्पताल, काठमाडौँ, मातृका आँखा अस्पताल, काठमाडौँ, मृगौला बचाऔँ अभियान, वनस्थली, नेपाल मेडिसिटी अस्पताल ललितपुर, औषधी व्यवस्थापन विभाग, जिल्ला अस्पताल भोजपुरले प्राविधिक सहयोग गरेको थियो भने भोजपुर नगरपालिका र विद्यालय स्थानीय व्यवस्थापन गरेको थियो । जिल्ला तहमा नै सञ्चालन भएको शिविर प्रभावकारी देखिएको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बताउनुभयो ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा। राधिका थपलियाले दुर्गम जिल्लामा काठमाडौँ देखि आएर सेवा दिनु महत्वपूर्ण भएको बताउनुभयो । शिविरमा सहयोग गर्नु हुनेहरूलाई समापन कार्यक्रममा प्रमाण पत्र र मायाको चिनो समेत वितरण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button